काठमाडौं— सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आजै अपरान्ह ४ बजे बस्नेगरी सकिएको छ ।
बुधबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा साउन १७ गतेबाट बस्ने केन्द्रिय समितिको एजेण्डा तयार गर्ने विषयमा प्रारम्भिक छलफल गरेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।
उनले केन्द्रिय समितिको बैठकका लागि प्रारम्भिक एजेण्डा तय गर्न बैठक बसेको र केही पदाधिकारीहरूले आफ्नो धारणा राखिसकेको र केही पदाधिकारीको धारणा साँझ ४ बजेको बैठकमा राख्नेगरी बिहानको बैठक सकिएको बताए ।
उनले भने, ‘केन्द्रिय समितिको बैठक १७ गतेदेखि हुँदैछ । त्यो बैठकको प्रारम्भिक एजेण्डा तयार गर्न, विशेष गरी सबै पदाधिकारीहरूले आफ्नो धारणा राख्नुभयो । बैठक फेरि बेलुका ४ बजे बस्नेछ ।’
उपाध्यक्ष महराले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुमति दिएसँगै पदाधिकारी बैठक बसेको बताए ।