News Griha :: न्यूजगृह
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु

दाङ— पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्याङ्कानुसार डुबेर मृत्यु हुनेको सङ्ख्या दुई सय २८ रहेको छ ।

जसमा एक सय  ७४ पुरुष र ५४ महिला हुन् । डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाअन्तर्गत छन् । तथ्याङ्कानुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१,  तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२, गढवाका १६ जनाको मृत्यु भएको छ । यसैगरी बबईका नौ, दङ्गीशरणका आठ, शान्तिनगर र राजपुरका समान पाँच–पाँच, बङ्गलाचुलीका तीन तथा  जिल्ला बाहिरका १६ व्यक्तिको डुबेर मृत्यु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार जिल्लामा आव २०७९/८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा डुबेर मृत्यु भएको छ । आव २०७८/७९ मा ६३ जना, आव २०७७/७८ मा ५५, आव २०७६/७७ मा ३७ र आव २०७५/७६ मा २९ जनाको डुबेर मृत्यु भएको तथ्याङ्क छ । 

डुबेर ज्यान गुमाउनेमा २० वर्षमुनिका ८५ जना रहेका छन् ।  प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षमा वृद्धसम्मका रहेका जानकारी दिनुभयो । घोराही–९ की १३ महिनाकी शिशुको २०७८  फागुन २२ गते घर अगाडि राखेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको थियो भने बङ्गलाचुली गाउँपालिका वडा नं ७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्ने क्रममा चिप्लेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले डुबेर भएका मृत्युमध्ये अधिकांश लापरवाहीका कारण भएको जनाएको छ । पानीसँगको खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए । 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १२:०९
Weather Update