
काठमाडौं — चिनियाँ संसद् जनकंग्रेसले राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिएका ली चियाङलाई प्रधानमन्त्री बनाएको छ । राष्ट्रपति सी आफैले लीको नाम प्रस्ताव गरेका हुन् जसलाई जनकंग्रेसले अनुमोदन गरेको छ । ६३ वर्षीय ली व्यवसायीको हितमा काम गर्ने राजनीतिज्ञका रूपमा परिचित छन् ।
ली सुरुवाति दिनमा चीनको क्षेत्रीय राजनीतिमा सीसँगै थिए । उनी पछि उपराष्ट्रपतिका रूपमा केन्द्रीय सत्तामा आएका हुन् । त्यसअघि उनी सांघाई पार्टी कमिटीको प्रमुखको भूमिकामा समेत थिए । शुक्रबार मात्र सी तेस्रो पटक चीनको राष्ट्रपति बनेका थिए ।
शून्य कोभिड नीतिको असर चिनियाँ व्यावसायिक क्षेत्रमा परेको र निजी क्षेत्रसँग राम्रो सम्बन्ध भएकाले सीले लीलाई प्रधानमन्त्री बनाएको बुझिएको छ । लीले वर्तमान ली खछ्याङलाई पदस्थापन गर्ने भएका हुन् । उनी १० वर्षदेखि चीनको प्रधानमन्त्री थिए ।
ली खछ्याङ राष्ट्रपति सीकै प्रतिस्पर्धीसमेत मानिन्छन् । उनी चिनियाँ कम्युनिुस्ट पार्टीका पाका नेता तथा पूर्वराष्ट्रपति हु जिन्ताओनिकट समेत मानिन्छन् । हुलाई गत अक्टोबरको पार्टीको महाधिवेशनमा बीचमै हलबाट निकालिएको थियो । पेकिङ विश्वविद्यालयबाट अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेका उनले चीनको आर्थिक सुधारका लागि उल्लेख्य काम गरेका थिए ।
ली चियाङ गत महाधिवेशनबाटै चिनियाँ कम्युनिस्ट पार्टीको शक्तिशाली पोलिटब्युरोमा बढुवा भएका हुन् । उक्त महाधिवेशनले सीनिकट र उनका विश्वासपात्रलाई नै पोलिटब्युरोमा ल्याएको थियो । जसमा निवर्तमान प्रधानमन्त्री ली खछ्याङसमेत अटाएका थिएनन् । ७ सदस्यीय पोलिटब्युरोमा राष्ट्रपति सीसहित चाओ लेची, वाङ खुनिङ, ली चियाङ, साइ ची, डिङ सिआसिआङ र ली सी रहेका छन् ।













