News Griha :: न्यूजगृह
सुन प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै संसद् अवरूद्ध गर्ने एमालेको तयारी
फाइल तस्बिर ।

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ । 

एमाले प्रमुख सचेतक पदम गिरीले अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएको बताए ।  ‘गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्छ । यो कुरा संसद्मा हामी जोडदार रुपमा उठाउँछौं,’ उनले भने ।

त्रिभुवन विमानस्थलमा भन्सार जाँच पास गर्ने कार्यमा गृह मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गतका निकायहरू रहने हुँदा दुवै मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने एमालेको धारणा रहेको गिरीले बताए ।

प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा माग्ने तयारी गरेको हो ।

साउन ३ गते भन्सार जाँचपास भइ त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब एक सय केजी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना पक्राउ परेका छन् ।   

सुन प्रकरणबारे पार्टीको थप धारणा तय गर्न एमालेले संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठक मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित संसद्को लोत्से हलमा बस्नेछ । 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १०:३९
Weather Update