News Griha :: न्यूजगृह
दुई वर्षमै एमाले किन प्रदेश अधिवेशनमा जुट्यो ? 

काठमाडौं— साउन ४ मा एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीमा रहेका सङ्गठित सदस्यहरूको सङ्ख्या नघटेको दाबी गर्‍यो ।

एमालेको सदस्य सङ्ख्या घटेको समाचार सार्वजनिक भएपछि सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन् ।

‘नेकपा एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन,’ विज्ञप्तिमा भनिएको थियो, ‘सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।’ उनले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको एघारौँ महाधिवेशनसम्म १० लाख गुणस्तरीय सदस्य पुर्‍याउने लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख गरेका थिए ।

पार्टीको आगामी महाधिवेशन सम्ममा एमाले दश लाख बढि सदस्य बनाउने लक्ष्य राखेको छ । तर, नयाँ राजनीतिक दलप्रति युवाको बढ्दो आकर्षणसँगै पुरानो दलहरूले केही गरेनन् भन्ने असन्तुष्टि बढ्दो छ । 

नेकपा एमालेमा मात्र होइन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका पुराना दलप्रति पार्टी कै नेता तथा कार्यकर्ताको विकर्षण बढ्दो छ । त्यसले गर्दा पार्टी छाड्ने र निस्क्रिय बस्ने क्रमले पुराना दलमा तीव्रता पाएको छ । त्यसको असर एमालेमा अझ धेरै परेको एक पदाधिकारीले बताए । 

पार्टीभित्र फरकमतको अस्थित्व नै नहुँदा नेता तथा कार्यकर्ता पलायन हुने क्रम सुरु भएको जनाउँदै त्यसलाई रोक्न हम्मेहम्मे परेको ती पदाधिकारीको दाबी छ । सबैभन्दा धेरै गण्डकी र लुम्बिनीमा ६०/६५ प्रतिशत मात्र सदस्य नवीकरण भएको जनाउँदै ती पदाधिकारी कोशी र बागमती प्रदेशमा ५०/५० प्रतिशत मात्र सदस्यता नवीकरण भएको छ । त्यस्तै, मधेस प्रदेश र कर्णालीमा सबैभन्दा कम ३० प्रतिशत सुदूरपश्चिम प्रदेश ३५ प्रतिशत मात्र सदस्यता नवीकरण भएको एमाले स्रोतको दाबी छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनपछि संगठन विस्तारका लागि पार्टीले विभिन्न चरणको अभियान सञ्चालन गर्दासमेत् सकारात्मक प्रभाव पर्न नसकेको निष्कर्षसहित प्रदेश अधिवेशनमार्फत सङ्गठनलाई चलायमान र नयाँलाई जिम्मेवारी दिने एमालेले रणनीति बनाएको ती पदाधिकारीको दाबी छ । सोही अनुसार एमालेले असोज १५ गतेभित्र प्रदेश अधिवेशन सक्ने तयारी गरेको छ । 

गण्डकी बाहेक सबै प्रदेशको अधिवेशनको मिति तोक्दै उसले कोशीमा असोज १२ र १३, मधेशमा असोज ५ र ६, बागमतीमा ८ र ९, लुम्बिनीमा भदौ १६ र १७, कर्णालीमा भदौ २९ र ३० र सुदूरपश्चिममा भदौ २२ र २३ गते गर्ने भएको छ ।
एमाले विधानले प्रदेश कमिटी सहितको कार्यकाल ४ वर्षको हुने व्यवस्था गरेपनि त्यसअघि नै अधिवेशन गर्न लागेको हो । यसअघि २०७८ माघ ८ गते सातै प्रदेशमा एकै दिन अधिवेशन आयोजना गरेको थियो । जिल्ला र वडा अधिवेशन पनि एमालेले एकै दिन गरेको थियो । अधिवेशनले प्रदेश कमिटीको आकारसमेत घटाउने एमाले तयारी छ । 
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १०:१८
Weather Update