
तनहुँ— असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायः जसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ ।
पानी पर्याप्त नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको भानु नगरपालिका–२ का देवबहादुर कमलीले बताए । उनले भने,‘यस वर्ष त रोपाइँ नै ढिला भयो, विगतमा असारको २२/२३ गतेसम्ममा रोपाइँ सकिन्थ्यो, अहिले साउनको आधी समय घर्किन लागिसक्यो, रोपाइँ सकिएको छैन ।’
रोपाइँ गर्ने बेलामा पानी नपर्दा किसानलाई सास्ती नै सास्ती छ । पानीको जोहो होला र अनी धान रोपौँला भनेर किसान पर्खेर बसेका छन् । व्यास नगरपालिका–७ कलेस्तीका शिवलाल प्रधानले पानी अभावले आधा खेतमा मात्रै रोपाइँ गरिएको बताए ।
‘बल्लतत्ल आधी खेलमा रोपाइँ सकियो, यसपालि राम्रो उब्जनी हुँदैन भन्ने डर छ’, उनले भने । कुवा, पधेँरो, खोला र खोल्सीको पानीले खेती गरिने खेतमा पानीको अभावले धान रोपाइँ गर्न सकिएको छैन ।
‘पहिला त जेठदेखि नै पर्याप्त पानी पर्थ्याे, यसपालि त न पानी पर्याे, न खेत रोप्न सकिएको छ, किसानलाई जताबाट पनि सास्ती नै सास्ती छ’, प्रधानले भने ।
पर्याप्त वर्षा भएपछि कुवा, पधेँरो, खोला, खोल्सीको पानीको मुहान बढेर आएपछि सबैजसो खेतमा धान रोपिने गरेको व्यास–७ का प्रदीप घिमिरेले बताए ।