News Griha :: न्यूजगृह
शिक्षा ऐन : शिक्षक महासंघले गर्‍यो सरोकारवालासँग अन्तर्क्रिया, शिक्षक र कर्मचारीका माग सम्बोधन नभए आन्दोलन

काठमाडौं— नेपाल शिक्षक महासंघले मन्त्रिपरिषद्मा रहेको संघीय शिक्षा ऐनका विषयमा अन्तर्क्रिया गरेको छ । महासंघले मंगलबार सरोकारवालसँग ऐनका विषयमा छलफल गरेको हो ।

विभिन्न शैक्षिक संघसंगठन, पूर्वशिक्षामन्त्री, सांसदहरूसँग अन्तर्क्रिया गर्दै महासंघले शिक्षा ऐनमार्फत सबै किसिमका शिक्षक र विद्यालय कर्मचारीका माग सम्बोधन नभए कडा आन्दोलन गर्ने निष्कर्ष निकालेको छ ।

अन्तर्क्रियामा महासंघकी अध्यक्ष कमला तुलाधरले शिक्षक राज्यको प्राथमिकतामा नपरेको बताइन् । उनले राज्यबाट शिक्षक जहिले पनि हेपिएको बताउँदै अब पनि सोही अवस्था दोहोरिए चुप लागेर नबस्ने बताइन् ।

उनले शिक्षा ऐनको ड्राफ्ट बजारमा आएको तर शिक्षकसँग अहिलेसम्म छलफल नगरिएकोमा आक्रोश व्यक्त गरिन् । उनले मन्त्रिपरिषद्मा रहेको शिक्षा ऐन शिक्षा सरोकारवालासँग छलफल र आन्दोलन सँगसँगै अगाडि बढ्ने गरी तयारी थालिएको जनाइन् । 

सरकारले विद्यालय कर्मचारी र शिक्षकबीच विभेद गर्दै आएकोले विद्यालयका शिक्षक र कर्मचारी सबै एक भएर आन्दोलनमा जानुपर्ने अवस्था सरकारले नै सिर्जना गरेको अध्यक्ष तुलाधरले अन्तर्क्रियामा बताइन् ।

उनले नयाँ शिक्षा ऐन शिक्षक महासंघलगायतसँग खुला रूपमा छलफल, बहस नगरी ल्याइए त्यसको विरोध गर्ने बताइन् । उनले शिक्षक तथा कर्मचारीका सम्पूर्ण माग सम्बोधन गर्नका लागि पहल गर्न सांसदहरूलाई आग्रह गरिन् ।

अन्तर्क्रियामा शिक्षासँग सम्बन्धित सरोकारवाला, पूर्वशिक्षामन्त्री तथा सांसदहरूले बोलेका थिए । उनीहरूले शिक्षक तथा कर्मचारीका समस्या समाधान गर्दै गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहने बताए ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०८:२०
Weather Update