News Griha :: न्यूजगृह
फौजदारी मुद्दा लागेकालाई छुट दिँदा देशको छवि धुमिल बन्यो : शेखर कोइराला

काठमाडौं— नेपाली कांग्रेसका नेता शेखर कोइरालाले फौजदारी मुद्दा लागेकालाई राजनीतिक छुट दिँदा देशको छवि धुमिल बनेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले सो कुरा बताएका हुन् ।

नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको बताउँदै फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएकोले यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रियस्तरमा धुमिल बनाउने बताए ।

उनले भने,‘दण्डहिनताको अन्त्य भएको छैन । राज्य नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको छ । हुँदाहुँदा कानून नै हामीहरु यस्तो बनाउन खोज्दैछौँ जुन कानून फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिने । भ्रष्टाचार र दण्डहिनताले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि अत्यन्त धुमलिएर गएको मैले पाइराखेको छु । भुटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरुले आफ्नो अनुहार कसरी देखाउने ? यो कुराहरुलाई शून्य सहनशिलताको रुपमा लिएर कांग्रेस अगाडि बढ्छ भन्ने कुरा राख्न चाहन्छु ।’

उनले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रुपमा चलाउने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १७:३६
Weather Update