काठमाडौं— राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले देशको अस्तित्व जोगाउने सबैभन्दा बलियो हतियार अर्थतन्त्र भएको बताएका छन् ।
भीमसेन थापाको २४९ औं जन्मजयन्तीको अवसरमा आयोजित सम्मान एवं पुरस्कार समर्पण समारोहमा उनले देशको अस्तित्व जोगाउने सबैभन्दा बलियो हतियार अर्थतन्त्र भएको भन्दै अर्थतन्त्र बलियो भयो भने कुनै देशले पनि हेप्न नसक्ने बताए ।
उनले भने, ‘क्रान्ति किन हुन्छ भने, यो अर्थतन्त्र बिग्रियो भने सबै कुरा हुदै जान्छ । मान्छे बौलाउने कारण त्यही हो, त्यसकारण देशको अस्तित्व राख्नको लागि अर्थतन्त्र बलियो बनाउँनु पर्छ र अर्थतन्त्र बलियो बनाउनको लागि अनुसन्धान, नवप्रवर्द्धन र आविष्कार हतियार हो । तर देशको अस्तित्व जोगाउने सबैभन्दा बलियो हतियार अर्थतन्त्र हो, अर्थतन्त्र बलियो भयो भने कसैले हेप्न सक्दैन । ’
यस्तै, पुनले देश विकासको लागि देशको प्रतिभाहरूलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने र पलायन भइसकेकाहरूलाई पनि फर्काउनु पर्ने बताए । देशको अर्थतन्त्र बलियो बनाउने र प्रतिभा भएकाहरूलाई देशमा राख्ने वातावरण बनाउने कानून आवश्यक भएको उनको भनाई छ ।