
काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरूले आफ्नो राजिनामा माग्नु अस्वाभाविक नलागेको बताएका छन् ।
मंगलबार गोरखामा पत्रकारसँग उनले भने ‘मैले सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरूले गृहमन्त्रीको राजिनामा मागेकोबारे त्यसलाई अस्वभाविक मान्दिन । यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जवरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइराखेका छौं ।’
भ्रष्टाचारी आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि हुन सक्ने भन्दै उनले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल बनाएरै छाड्ने दृढता व्यक्त गरे ।
‘एउटा वा अर्कोरूपले त्यसप्रकारले सोच्छ भने सायद विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास हुनु स्वाभाविक छ, तर त्यो प्रयत्नलाई हामी असफल पार्छौँ, समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध छ,’ मन्त्री श्रेष्ठले भने ।