News Griha :: न्यूजगृह
कांग्रेस नेता भण्डारीको प्रश्न : प्रजातन्त्र देशका सीमित व्यक्तिको लागि मात्रै आएको हो ?  

काठमाडौं— नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सीमित व्यक्तिहरूले राम्रो घर बनाउँन र राम्रो गाडी चढ्न मात्रै देशमा प्रजातन्त्र ल्याएको हो ? भन्दै प्रश्न गरेका छन् ।

४१ औं बीपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली काङ्ग्रेसको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सधैँ बीपी र गणेशमानको नाममा कमाउने प्रवृत्ति बढ्दै गएको दाबी गरे । भण्डारीले त्यसलाई अन्त्य गर्ने दायित्व कांग्रेसको काँधमा आएको बताए । 

उनले भने, ‘सीमित व्यक्तिहरूको परिवार बनाउँन, सीमित व्यक्तिहरूको घर बनाउँन, सीमित व्यक्तिहरू राम्रो गाडी चढ्न यो देशमा प्रजातन्त्र ल्याएको हो ? के शहीदहरू बनेको हो ? यो प्रश्न र चुनौती आजको हो ।’

 यस्तै उनले भाग्यले केही व्यक्तिहरू प्रधानमन्त्री, मन्त्री बने तर अबको युवाहरूले त्यो पद पाउनको लागि धेरै ठूलो त्याग गर्नुपर्ने बताए ।

‘युवा विहीन देश बन्दै छ, देशमा किसानहरू समस्या परेका छन् त्यो विषयमा छलफल होला भनेको शक्ति प्रदर्शन गर्ने थलो बनेको छ समितिको बैठक, यसरी चल्छ काङ्ग्रेस, यसरी चलाउन सकिन्छ ?,’ उनले भने ‘ २, ४ जना बढ्नु र पढ्नु यहीको समाजवाद, भर्खरका युवाहरू देश छोडेर जानु यहीको समाजवाद हो । भाग्यले केही व्यक्तिहरू प्रधानमन्त्री हुनुभयो, भाग्यले कर्म नगरिकनै केही व्यक्तिहरू मन्त्री बन्नु भयो अबको युवाहरूले त्यो पद पाउनको लागि धेरै ठूलो त्याग गर्नुपर्छ । हिजोको जस्तो होइन ।’ 

उनले केन्द्रीय समितिको बैठक समसामयिक विषयका चर्चा गर्नुभन्दा पनि शक्ति प्रदर्शन गर्ने थलो बनेको समेत टिप्पणी गरे । बैठकमा राष्ट्रिय एजेण्डा र परराष्ट्र नीतिमाथि छलफल गर्नुपर्ने अवस्थामा एकअर्कालाई गाली गर्ने काम मात्रै भएको पनि उनको टिप्पणी छ । 

यस्तो प्रवृत्तिले नेपाली कांग्रेसलाई कमजोर बनाएको भन्दै यसलाई रोक्नु आजको आवश्यकता भएको बताए । 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:०६
Weather Update