
गोरखा— उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् ।
मङ्गलबार गोरखा पुगेका श्रेष्ठले पत्रकारसँग अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।’
तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनुसन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे। ‘जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु । दोषीलाई कुनै पनि हालतमा उम्कन दिइदैन,’ श्रेष्ठले भने ।
भ्रष्टाचार विरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने उनले बताए। आम जनताको जीवनस्तरमा परिवर्तन हुनेगरी समृद्धिको आधार तयार पार्न सरकार प्रतिवद्ध भएर लागेको श्रेष्ठको भनाई थियो । पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठको दाबी थियो ।