काठमाडौं— सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शङ्खमूल घाटमा स्थानीयले गरेको 'प्रथम शङ्खमूल तीर्थ श्रावणी महोत्सव' मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो । स्थानीयले सो स्थानमा साउन १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् ।
महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलबार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो । पार्कमा हिड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृतसमेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे ।
सो क्रममा नगरप्रहरी र स्थानीयबीचकेहीबेर भनाभन समेत भएको थियो । आफूहरूले लिखित रुपमा अनुमति लिएर भएपनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताए ।