काठमाडौं— नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरीमा फसेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताएका हुन् । गच्छदारले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने पनि बताए । उनले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए ।
उनले भने, ‘केन्द्रिय कार्यसमितिको बैठक ६ दिनसम्म लगातार चल्यो, हिजो बोल्ने क्रम सकिएको छ, भोलि निर्णय सार्वजनिक हुँदैछ, बैठकको प्रत्यक्ष प्रसारण भयो, ऐतिहासिक मानिएको छ । बैठक महत्वपूर्ण भएको छ । समय अभावका कारण नेताहरूले आफ्ना सबै भनाइ राख्न पाएनन् । ७ मिनेटमा बोल्न धेरै गाह्रो थियो । नेपालको राजनीति अन्योलपूर्ण भएको छ, अनिश्चितताको भुमरीमा फसेको छ । नेपालको राजनीति तरल अवस्थामा छ, अस्थिरताको दलदलमा परेको छ । नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ।’ नेता गच्छदारले देशको राजनीतिक अवस्था खराब रहेको बताए ।