News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल र उनका बंगलादेशी समकक्षीबीच भेटवार्ता, विद्युत व्यापारमा चासाे

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ ।

इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र उनका बंगलादेशी समकक्षीबीच आपसी हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरुबीच राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा भेटवार्ता भएको हो ।

उनीहरुबीच कृषि, जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि महत्त्वपूर्ण छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । त्यसका अलावा दुई प्रधानमन्त्रीबीच क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा पनि महत्त्वपूर्ण छलफल भएको थियो ।

सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसाल, परराष्ट्र मन्त्रालयका अधिकारीका अलावा नेपाली प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो । त्यस्तै, बंगलादेशका उच्च सरकारी अधिकारीको पनि उपस्थिति थियो ।

बंगलादेशले नेपालबाट तत्कालै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । यस्तै, सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने बताउँदै आएको छ ।

केही महत्त्वपूर्ण जलविद्युत आयोजनामा समेत बंगलादेशले लगानी गर्ने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणका क्रममा नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारका सम्बन्धमा त्रिदेशीय सहमतिको वातावरणसमेत बनेको छ ।

यस्तै, नेपाल र बंगलादेशबीच रहेका विभिन्न संयन्त्रमार्फत द्विपक्षीय हित र चासोका क्षेत्रमा समेत विचार विमर्शका अलावा, अनुभवको आदानप्रदानसमेत भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०६:४२
Weather Update