News Griha :: न्यूजगृह
अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्रीले भने— नेपालका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी, बजेट वृद्धि गरिएको छ

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताएका छन् ।

सो कार्यक्रमबाट हरेक दिन देशभरका बालबालिका प्रत्यक्ष रुपमा लाभान्वित भइरहेको तथ्य पेस गर्दै प्रधानमन्त्री दाहालले त्यस कार्यक्रमलाई निरन्तरता दिन सरकारले पछिल्लो पाँच वर्षमा चार गुणा बजेट वृद्धि गरेको जानकारी गराए ।

खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ लाई आइतबार सम्बोधन गर्दै उनले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको बताए । सो कार्यक्रमबाट प्रत्यक्ष रूपमा ३३ लाख बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भएको तथ्यांकसमेत प्रधानमन्त्री दाहालले पेस गरे ।

‘विद्यालय खाजा कार्यक्रम नेपालको एउटा सफल कार्यक्रम हो । यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेका छन्’, प्रधानमन्त्री प्रचण्डले भने,‘फलस्वरूप विद्यार्थी भर्नामा वृद्धि, नियमित उपस्थिति र शैक्षिक सुधारजस्ता उपलब्धि हासिल भएको छ ।’

सो कार्यक्रमलाई एकीकृत रूपमा कृषि, शिक्षा, खाद्य सुरक्षा, पोषण, स्वास्थ्य र सरसफाइसँग जोडिएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले चालु आर्थिक वर्षको शिक्षा तर्फको बजेटको कूल ६ प्रतिशत दिवा खाजाका लागि वृद्धि गरिएको उल्लेख गरे ।

उनले दिवा खजा कार्यक्रमले विद्यार्थीको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने, स्वास्थ्य, शैक्षिक क्रियाकलापमा गुणात्मक परिवर्तन ल्याउने भएकाले यसका प्रयासहरूलाई दोब्बर बनाउनुपर्ने स्पष्ट पारे । उनले भने, ‘विद्यालयको खाना यस्तो क्षेत्र हो जसले रूपान्तरणमा ठूलो प्रभाव पार्छ ।’

दिवा खाजा कार्यक्रमले विद्यार्थीको स्वास्थ्य, शैक्षिकका साथसाथै उनीहरूको समग्र विकास क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले अति कम विकसित र अल्पविकसित मुलुकका विद्यार्थीले विद्यालय छाड्ने दरमा कमी ल्याउनका लागि पनि सो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए ।

सन् २०२६ सम्म नेपाल विकासोन्मुख देशका रुपमा स्तरोन्नति हुने क्रममा रहेको जानकारी दिँदै उनले विद्यालयमा पोषणयुक्त खानेकुराको सुनिश्चिता गर्नु आवश्यक रहेको  र त्यसका लागि स्थानीय खाद्य सामग्रीको उत्पादन र विविधकरणमा जोड दिएको बताए ।

स्थानीय रूपमा साना स्तरका कृषि विकास कार्यक्रमलाई अगाडि बढाइ विद्यार्थीको स्वास्थ्य, पोषण र शिक्षामा सुधार ल्याउनका लागि सहयोग गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:४८
Weather Update