काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बैठक मिसन ८४ को निर्वाचनलाई लिएर मात्र नभई देशको समग्र विषयमा आधारित भई बसेको बताएका छन् ।
सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको छैटौं दिनको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले बाहिर चर्चामा आएको जस्तो मिसन ८४ लाई गम्भीरता पूर्वक लिएर बैठक बसेको भन्ने कुरा साँचो नभएको बताए ।
उनले देशको समग्र समस्यामा आधारित भएर बैठक बसेको प्रष्ट पारे । उनले भने,‘नेपाली कांग्रेस पार्टी बाहिर चर्चा भएजस्तै मिसन ८४ को लागि गम्भीरता लिएर गरेको होइन । यो बैठकमा ८४ को घोषणा गरेको छैन । हामीले देशको बारेमा विभिन्न विषयमा छलफल गरेका छौं ।’
महामन्त्री शर्माले पार्टी अधिवेशनमा एउटा पदमा पराजित भएको व्यक्तिलाई त्यो भन्दामाथि मनोनीत गर्न नमिल्ने तर्क गरे । उनले भने,‘पार्टीको अधिवेशनमा एउटा पदमा पराजित व्यक्तिलाई सोही कार्यकालमा माथिल्लो तहमा मनोनीत गर्ने भन्ने कुराले त्यही तहको साथीलाई मसँगै हारेको मभन्दा माथि गयो भन्ने पर्छ । त्यसरी माथि जाँदा उसको प्रश्न गर्ने क्षमता पनि भुत्ते हुँदै जान्छ ।’
उनले बैठकमा निर्वाचन प्रणालीको विषयमा,मधेसको मुद्दा, कर्णालीको बारेमा पनि कांग्रेसले कुरा उठाएको जानकारी दिए । किसानको मुद्दाहरु, लम्पी स्कीनबाट प्रभावित भएका किसानहरुको बारेमा,सम्पूर्ण शैक्षिक क्षेत्रमा सहकारीको बारेमा र बढ्दो ब्याज दर जस्तो देशको समस्याहरुको बारेमा छलफल भएको उनको भनाइ छ ।