News Griha :: न्यूजगृह
केन्द्रीय सदस्यलाई गगनको जवाफ— मैले बोल्न बन्द गरेर पार्टीको समस्या समाधान हुँदैन

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मौन व्रत राख्दैमा पार्टीको समस्या समाधान नहुने बताएका छन् ।

सोमबार सानेपामा जारी पार्टीको केन्द्रीय कार्यसमितिको छैटौं दिनको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै महामन्त्री थापाले बोल्न बन्द गरेर मौन व्रत राख्दैमा पार्टीको सबै समस्या हल नहुने बताए ।

उनले भने,‘बाहिर जे–जे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीगतरूपमा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन व्रत राख्यो भने पार्टीको सबै समस्या हल हुन्छ । सभापतिज्यू ! मलाई के लाग्छ भने यसले हामीलाई दुर्घटनातिर लान्छ ।’

अहिले गठबन्धको नेता नेपाली कांग्रस नै भएको दाबी गर्दै उनले भने,‘प्रधानमन्त्री आउने जाने क्रम चल्छ । त्यसको नेता नेपाली कांग्रेस हो । हामीले बनाएको गठबन्धन हो । इमान्दारीतापूर्वक हामीले सहभागीता जनाएका छौं । हाम्रा सर्तहरु छन् त्यो रहनुपर्छ ।’

महामन्त्री थापाले पार्टी भित्र प्रजातान्त्रिक अभ्यास गर्दैमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउँदै संसदीय दलको नेता परिवर्तनको अधिकार पार्टीको विधान र संसदीय विधानले दिएको प्रष्ट पारे ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:१३
Weather Update