
काठमाडौं— हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति भने कर्णाली र सुदूरपश्चिमसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
देशका पहाडी भू–भागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।













