News Griha :: न्यूजगृह
सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : घनश्याम भुसाल
फाइल तस्बिर ।

काठमाडौं— नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरूलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराए । अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरूको अहिले नै भ्रूण तुहिने गरी सरकारले भ्रष्टहरूमाथि कारबाही गर्नुपर्ने महासचिव भुसालको भनाई थियो । 

‘अहिलेका यी भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गरियोस् ताकि अव जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरूको अहिलेनै भ्रूण तुहियोस् । नजन्मिउन् तिनीहरु । त्यो होस् । त्यो ठिक छ । तर यसले मात्रै पुग्दैन । मैले भन्न खोजेको यसले मात्रै पुग्दैन । पार्टी भित्र यो बहस सुरु हुनुपर्यो । हरेक कमिटीमा यो छलफल सुरु हुनुपर्‍यो । पार्टीका हरेक कमिटीहरूमा खासगरी सेन्ट्रल कमिटीहरूमा पहिला कम्युनिष्ट पार्टीबाटै सुरु गर्नु पर्‍यो,’ भुसालले भने ।

उनले मुलुकबाट भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्न भने हरेक पार्टी भित्रैबाट भ्रष्टाचारविरोधी अभियान सुरु गर्नुपर्ने बताए । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ जस्ता एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टी भित्रैबाट त्यसविरुद्ध अभियान छेड्नुपर्ने उनको भनाई छ । महासचिव भुसालले पपुलिज्मका लागि भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई अघि बढाउन नहुने बताए । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १४:४६
Weather Update