
काठमाडौं— सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनबीच भेट भएको छ ।
सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको छ ।
भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरसको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरेका छन् । ‘सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ उनले भने, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।’
सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गरे । हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच ऐतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको पनि उनले बताए ।