
काठमाडौं— सत्ता गठबन्धन दलहरू मन्त्रालय भागबन्डाको संख्यामा सहमति नजिक पुगेका छन् । कुन दलले कुन–कुन मन्त्रालय पाउने भन्नेमा भने अझै टुंगोमा पुगि नसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बिहीबार बिहान गठबन्धनको बैठक बसेर मन्त्रालयको भागन्डा बारेमा टुंगो लगाउने र मन्त्रीको शपथ गराउने तयारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई चरणमा बसेको गठबन्धनको बैठकमा दलहरूले पाउने मन्त्रालयको सङ्ख्या टुङ्गो लागेको नेताहरूले दाबी गरेका छन् ।
जसअनुसार गठबन्धनमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादीले २, जसपाले २, लोसपा, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी र प्रभु साहले एक–एक मन्त्रालय लिने सहमति भएको छ ।
सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा भने मन्त्रालय परेको छैन ।
प्रधानमन्त्री प्रचण्डले उसका लागि मन्त्रालय छुट्याउने तयारी गरेका छन् । रास्वपा सरकारमा सहभागी भएका आफू एउटा मन्त्रालय छोड्न प्रधानमन्त्री तयार रहेको बताइएको छ ।













