News Griha :: न्यूजगृह
कम्बोडियन पिपुल्स पार्टीलाई बहुमत, ओली स्वदेश फर्कँदै

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झन्डै एक साताको कम्बोडिया भ्रमण सकेर स्वदेश फर्कँदै छन् । 

कम्बोडियामा भएको निर्वाचन पर्यवेक्षणका लागि राजधानी नोमपेन्ह पुगेका एमाले अध्यक्ष ओलीसहितको टोली सोमबार राति १० बजे स्वदेश फर्कने उनको सचिवालयले जनाएको हो । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली साउन २ गते राति पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमालसहितको टोली कम्बोडियाको निर्वाचन पर्यवेक्षक लागि त्यसतर्फ प्रस्थान गरेका थिए ।

कम्बोडियामा कुल ९७ लाख १० हजार ६ सय ६५ मतदाताले १ सय २५ जना विधायकको निर्वाचित गर्न मतदान गरेका छन् । निर्वाचनमा देशभर २३ हजार ७ सय ८९ मतदान केन्द्र तोकिएको थियो । निर्वाचनको पर्यवेक्षणमा ओलीसहित विभिन्न समूहमा ३ सय ३४ जना विदेशी पर्यवेक्षक बिहानैदेखि जुटेका थिए ।

पर्यवेक्षणकै क्रममा उनले आइतबार दिउँसो ४ बजे श्रीलङ्काका पूर्व राष्ट्रपति तथा वर्तमान सांसद मैत्रीपाला सिरिसेनासँग भेटवार्ता गरेका थिए । साथै हिजो साँझ ६ बजे ओली शान्तिका लागि अन्तर्राष्ट्रिय उच्च परिषद्ले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

यसैबीच, कम्बोडियामा आइतबार सम्पन्न राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री हुन सेन नेतृत्वको कम्बोडियन पिपुल्स पार्टीले बहुमत प्राप्त गरेको छ । सेनको कम्बोडियन पिपुल्स पार्टीले कुल १२५ सिट मध्ये १२० सिट जितेको हो । प्रमुख प्रतिपक्षी दललाई चुनाव लड्न प्रतिबन्ध गरेको हुन सेनको पार्टीले ९६ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ ।

यद्यपि, निर्वाचनको औपचारिक घोषणा हुन भने बाँकी छ । लामो समयसम्म सत्तामा रहेको सीपीपीसँग १७ साना दल चुनावी दौडमा थिए ।

 

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०९:४६
Weather Update