‘प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ’ भन्दै लाखौं ठग्ने दुई जना पक्राउ

काठमाडौं— ‘प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ’ भन्दै ४५ लाख भन्दा बढी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्रीको सल्लाहकार रहेको तथा अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै विभिन्न कम्पनीहरु तथा व्यवसायहरुमा सहभागी गराउने आश्वासन दिएर पैतालिस लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा काठमाडौं नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र सोही ठाउँका २३ वर्षीय विशाल खनाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरुले स्कारपियो जीप समेत लिई गई फरार रहेको भन्दै उजुरी परेको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौंको कोटेश्वरबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान एवम् कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमक, झापा पठाइएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० २०:४०