News Griha :: न्यूजगृह
समाजवादी मोर्चा कसको लागि बनेको हो छलफल गर्न जरुरी छ : शेखर कोइराला

काठमाडौं— नेपाली कांग्रेसका नेता शेखर कोइरालाले समाजवादी मोर्चाको सम्बन्धमा प्रश्न उठाएका छन्  ।

आइतबारको केन्द्रीय समिति बैठकमा कोइरालाले सत्तारुढ गठबन्धन भित्रैका दलहरूले बनाएको समाजवादी मोर्चा कसको लागि बनेको हो भनी प्रश्न गरे ।

उनले गठबन्धन भित्र अर्को गठबन्धन बनेको भन्दै त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे । नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय तहमा देशको छवि धुमलिएको भन्दै यस विषयमा सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताए । 

कोइरालाले भने ‘हामी गुटभित्र पनि उपगुट भनेर भन्छौँ नेपाली कांग्रेसभित्र । हामीहरूको गठबन्धन भित्रपनि अर्को गठबन्धन बनेको छ । समाजवादी मोर्चा, त्यो कसको लागि बनेको हो त्यतातिर अब हामीले छलफल गर्न जरुरी छ ।’ 

उनले संसद्बाट दण्डहीनतालाई प्रश्रय दिने कानूनहरू बन्न थालेको बताए । उनले राज्यका जिम्मेवार निकायहरू कै कारण देशमा पछिल्ला दिनहरूमा दण्डहीनता बढेर गएको उल्लेख पनि गरे । कोइरालाले नीतिगतरूपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइराखेको बताए ।

नेता कोइरालाले हाल संसद्मा रहेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गर्नुपर्ने बताए । यो विधेयक पारित भएमा दण्डहीनताले संस्थागतरूप लिने उनको भनाई छ । 

उनले भने, ‘दण्डहीनतालाई हामीहरूले प्रश्रय गर्ने कानूनहरू बनाउन थालेका छौँ । राज्यका जिम्मेवार निकायहरूकै कारण देशका पछिल्ला दिनहरूमा दण्डहीनता बढेर गएको छ । नीतिगतरूपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइराखेको छ । हाल संसद्मा रहेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गरिनुपर्छ । यो विधेयक संसदबाट पारित भए देशमा दण्डहीनताले संस्थागतरूप लिन्छ । जनता दण्डहीनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहन्छन् ।’

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:५४
Weather Update