कैलाली— चुरे पहाडसँग जोडिएको गोदावरी नगरपालिका– १२ मा रहेको रातोपानी सामुदायिक वनमा पछिल्लो समयमा फडानी गरिएको छ ।
सामुदायिक वनका अध्यक्ष कैलाश विकसहितका पदाधिकारी, केही वनका कर्मचारीको मिलेमतोमा वन फडानी भएको आरोप स्थानीयले लगाएका छन् ।
फँडानीमा संलग्न भएको आरोपमा वन उपभोक्ता समिति सदस्य कर्णबहादुर विक र टेकराज ओझालाई स्थानीयले पक्राउ गरी वन कार्यालयमा बुझाएका छन् । पक्राउ परेका दुईसहित १२ जनाविरुद्ध वन मुद्दा दर्ता गरिएको डिभिजनल वन कार्यालयका सूचना अधिकारी डबलबहादुर बोहराले बताए ।
‘रातोपानी सामुदायिक वन क्षेत्रबाट तीन सय क्युफिट सालको काठ बरामद गरिएको छ, १६ रूख काटिएको फेला परेको छ,’ उनले भने, ‘वनका कर्मचारीको समेत वन फँडानीमा मिलेमतो भएको कुरा चलेपछि डिभिजनल वन अधिकृत भीमप्रसाद ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।’
काठ तस्करी गर्नेले सालका हरिया र सुकेका रूख काटेर वनभित्रै चिरान गरेर सःमिललाई काठ बेच्ने गरिएको स्थानीयको भनाइ छ । चुरे पहाडी क्षेत्रसँग जोडिएको यो सामुदायिक वन चुरेको महत्त्वपूर्ण भावर हो । यो वनमा भइरहेको फडानी र तस्करी रोक्न स्थानीयले पटक–पटक वन कार्यालयसँग आग्रह गर्दा पनि चासो नराखिएपछि फँडानीमा संलग्न हुनेलाई उपभोक्ताले स्वयं पक्राउ गरी वन कार्यालयको जिम्मा लगाएका हुन् ।
वन फँडानीसँगै तस्करले बँदेल, चित्तललगायतका वन्यजन्तुको सिकारसमेत गर्ने गरेको स्थानीयको भनाइ छ । सामुदायिक वनका अध्यक्षको प्रत्यक्ष संलग्नतामा वन फडानी भएको आरोप लगाउँदै स्थानीय उपभोक्ताले उहाँको राजीनामा समेत माग गरेका छन् ।
कैलालीमा विगतदेखि नै सुकुम्बासी, मुक्तकमैया, बाढीपीडितका नाममा वन क्षेत्रको जग्गा अतिक्रमण हुने गरेको छ ।
‘खासगरी जिल्लाका मुख्य सडक र सहायक सडक आसपासको वन क्षेत्र अतिक्रमण गर्ने प्रवृत्ति छ,’ सूचना अधिकारी बोहराले भने, ‘कतिपय ठाउँमा वन उपभोक्ता समितिका पदाधिकारी स्वयं अतिक्रमणमा लाग्दा अतिक्रमण रोकथाम गर्न समस्या भइरहेको छ ।’