News Griha :: न्यूजगृह
स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ : मन्त्री ज्वाला 
फाइल तस्बिर ।

काठमाडौं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमति पत्र (स्मार्टलाइसेन्स)को समस्या चाँडै समाधान गर्ने बताएका छन्  ।

सार्वजनिक सवारीमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको आइतबार उद्घाटन कार्यक्रममा उनले स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान गर्ने र स्मार्ट लाइसेन्स प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताए । 

मन्त्री ज्वालाले भने, ‘लाइसेन्स स्मार्टकार्डका बारेमा धेरै गुनासाहरू छन् । हामी यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी हामीले तयारी गरेका छौँ । यसको लागि छलफल पनि गरेका छौँ ।’ 

उनले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको बताए । मन्त्री ज्वालाले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कुरामा पनि बेवास्ता गर्न नहुने बताए । मन्त्री ज्वालाले यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट ब्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको बताए ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ११:१८
Weather Update