
काठमाडौं— राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सबै कम्युनिष्टहरूलाई एकतावद्ध हुन आह्वान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई आइतबार कीर्तिपुरमा सम्बोधन गर्दै उनले समाजवादी मोर्चा बनाउनु राम्रो भएपनि एक/दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने दाबी गरे ।
गौतमले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिष्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताए ।
उनले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिष्टहरू एउटा मोर्चामा आउन जरुरी रहेको बताए । गौतमले समाजवादी मोर्चामा दुई/तीन वटा पार्टी मात्रै नभइ नेकपा एमाले, मोहन वैद्य लगायतका अन्य छरिएर रहेका कम्युनिष्टपार्टीहरू एक हुनुपर्ने बताए ।
उनले भने, ‘सबै कम्युनिष्टहरू एकतामा आऔँ । मोर्चाको उद्देश्य नेपाली जनताको समृद्धिलाई बनाऔँ।’ गौतमले पुष्पलालले देख्नुभएको सपना साकार पार्न कम्युनिष्टपार्टीहरू एक भएर शक्ति आर्जन गर्नुपर्ने औँल्याए ।