
भरतपुर— नेपालमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने घट्दै गएको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत रहेका आंगिक क्याम्पसहरूमा छुट्याइएको ‘सिट’ मा समेत विद्यार्थीको सङ्ख्या पुग्न सकेको छैन ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा.पुण्य रेग्मी विद्यार्थीलाई देशमै भविष्य देखाउन नसके विदेशिनेको सङ्ख्या बढेर जाने बताउँछन् ।
उनले कृषि क्षेत्रमा विद्यार्थीको आकर्षण कम भएको बारे गम्भीर बनेको जनाउँदै नीतिगत तहमा छलफल भइरहेको बताए । उनले भने,‘विश्वविद्यालय सुधार गरेर विद्यार्थी र अभिभावकलाई आकर्षण गराउने खालको बनाउनुपर्छ, बन्द हड्ताल र समयमै पढाइ नसकिने परिपाटीको अन्त्य हुनुपर्छ ।’
विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक डा.ईश्वरी लौडारीका अनुसार क्याम्पसमा आवश्यक सिटभन्दा पाँच सय ८४ विद्यार्थी कमी रहेका छन् ।
‘विगतमा प्रवेश परीक्षा दिने विद्यार्थीको चाप थाम्न मुस्किल हुन्थ्यो । कुनै वर्ष पाँच हजारसम्मले प्रवेश परीक्षा दिएको तथ्यांक छ’, उनकाे भनाइ छ,‘अहिले विद्यार्थी नभएर कोटासमेत पूरा भएको छैन ।’
नेपालमा ‘बिएससी एजी’ पढाइ हुने क्याम्पस १६ छन् । त्यसमा नौ सरकारी र सातवटा निजी क्याम्पस छन् । त्यसमध्ये सबै क्याम्पसमा कोटा खाली छ ।
सातै निजी क्यामपसमा विद्यार्थीको सङ्ख्या शून्य छ । सरकारी क्याम्पसमा पनि विद्यार्थीको सङ्ख्या न्यून रहेको छ ।