News Griha :: न्यूजगृह
ओलीको तर्क— देश बनाउने पार्टीले बहुमत ल्याएन 

रुपन्देही— नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्ने बताएका छन् ।

एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज रुपन्देही पार्टीले बुटवलमा आयोजना गरेको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा लोकतन्त्र राजनीतिक अधिकारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा अवसर प्राप्त हुनुपर्ने बताए ।

उनले लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने बताए ।

उनले स्पष्ट दृष्टिकोण भएको, देश बनाउने दृष्टिकोणसहितको संकल्प बोकेको पार्टीले  बहुमत पाउँदा मात्र देशमा स्थिरता, स्थायित्व र विकास सम्भव हुने तर्क गरे ।

‘देश बनाउने कुनै दृष्टिकोण र संकल्प नभएको शक्तिले देशमा बहुमत ल्याएमा देशमा स्थिरता र स्थायित्व ल्याउन सक्दैन’, अध्यक्ष ओलीले भने, ‘त्यसले जनतामा जनतामा तीव्र निराशा, असन्तुष्टि बढाउने, विकास निर्माणका काम अवरोध हुन्छ, शान्ति सुव्यवस्था कायम हुन सक्दैन ।’

देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रताका लागि लड्नुपर्छ भन्ने चेत नभएको तथा देश कसरी बनाउने भन्ने कुनै दृष्टिकोण र संकल्प नभएको शक्तिले बहुमत ल्याएमा देशमा सुशासन नहुने अध्यक्ष ओलीको भनाइ थियो ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २०:१७
Weather Update