
काठमाडौं— राष्ट्रिय सभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुन्छ भन्नेमा सत्यता नरहेको दाबी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बौल्दै नेता गौतमले सो दाबी गरेका हुन् । उनले बोले,‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन । यो गलत कुरा हो ।’
उनले आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी गरे । उनले भने,‘म पहिलोपटक २०५४ सालमा गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन । मन्त्रीबाट हटेपछि उब्जियो । बरु म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरु उठाइए । र, अन्तिममा मलाई त्यही शक्तिले सरकारबाट हटायो, म त्यो बेला ७ महिनामात्रै मन्त्री भएको हुँ ।’
अहिलेको पछिल्लो सुन काण्डबारे के भन्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नको उत्तरमा उनले विमानस्थलमा प्रहरीको भूमिका सुरक्षासँग मात्रै सम्बन्धित रहेको सुनाए ।
सुन तस्करीमा वामदेवको पनि संलग्नता कतै छ है भन्ने छ नि ? भन्ने पत्रकारको अर्को प्रश्नमा वामदेवले प्रमाण दिन चूनौती दिए । उनले भने,‘यदि त्यसो भन्ने छ भने प्रमाण दिनुपर्यो । म त्यसको सामना गर्न तयार छु । राजनीतिक वृत्तमा उठेका प्रश्नहरूमा वामदेवको नाम आउँदैन् । अराजनीतिक क्षेत्रमा रहेका कतिपय भडुँवा व्यक्तिहरूले चाहीँ वामदेवको नाम ल्याउँछन् ।’
तपाईंको कार्यकालमा सुन तस्करी हुन्थ्यो कि हुन्थेन ? भन्ने पत्रकारको अर्को जिज्ञासमा वामदेवले भयो होला भन्ने जवाफ दिए । उनले भने,‘भयो होला । तर,यस्तो किसिमको भएको भए तपाईंले देखाउनु न ।’













