
सुर्खेत— कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् ।
नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए ।
राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको छ । राप्रपाले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे थियाे ।
राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।
शुक्रबार विश्वासको मत लिने प्रयोजनका लागि आज मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयलाई आवश्यक व्यवस्थापन गरिदिन चिठी पठाएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
‘उहाँले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनु हुनेछ’, सचिव बुढाथोकीले भने,‘शुक्रबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बसेलगत्तै मुख्यमन्त्री शर्माले विश्वासको मत लिने गरी आवश्यक व्यवस्थापन गरिरहेका छौँ ।’













