
काठमाडौं— नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले एकीकृत हुनुपर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताइन् । उनले अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने जिकिर गरिन् ।
भुसालले समाजवादी मोर्चा अहिले बनाइसकेको र आगामी दिनमा मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्याउने र बलियो कम्युनिष्ट पार्टी बनाउने दाबीसमेत गरिन् । अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरूलाई पनि एउटैमा ल्याउने प्रयास जारी रहने उनको भनाइ छ ।
भुसालले भनिन्, ‘अहिले एउटा बलियो कम्युनिष्ट पार्टी चाहिएको छ । तर विडम्बना हाम्रो कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा छ । त्यसलाई एकीकृत, केन्द्रिकृत गर्ने प्रयास भएका थिए, एउटै नेकपा पनि बनायौँ हामीले जनताको जनमत पनि इतिहास कायम गर्नेगरी प्राप्त गरेका थियौँ । तर एकता कायम भइरहन सकेनौँ । तर हामी अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न सक्दैनौँ । हामीले समाजवादी मोर्चा बनाएका छौं । मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्याउने हो । अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरूलाई पनि एउटैमा ल्याउने हाम्रो प्रयास हो ।’
भुसालले वैचारिक राजनीतिक बहसले एकीकृत कम्युनिष्ट पार्टी बनाउने भूमिका निभाउने बताइन् ।