
काठमाडौं— नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिष्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेप्रति लक्षित गर्दै कम्युनिष्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने बताए ।
अध्यक्ष नेपालले जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढनु पर्नेमा पनि जोड दिए । उनले भने, ‘घुमिफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोडन खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ । त्यसकारण अघि मैले भने व्यवहार सोचेजस्तो हुँदैन । सिद्धान्त सोचेजस्तो हुँदैन । नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानु पर्दछ । किन ? यहाँ कम्युनिष्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन । यो सबै अवस्था भित्र हामीले अहिलेको सन्दर्भमा राजनीतिक मित्रहरु र सँगसँगै उसमा रहेका राजनीतिक कमजोरीहरू, उसका आफ्नै सीमाहरू बुझेर उसमाथिको निर्भरता होइन, आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जुटनु पर्ने भएको हुनाले त्यसलाई समेत ध्यानमा राखेर हामी अघि बढौँ ।’
अध्यक्ष नेपालले व्यक्तिवाद हावी भएकै कारण तत्कालीन नेकपा समेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनु पर्ने बताए । उनले पूँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले पनि जनताको हितका लागि समाजवादको विकल्प नभएको जिकिर गरे ।