News Griha :: न्यूजगृह
आफ्नो हत्या गर्न आएका युवालाई बीपीले माफी दिए

जननायक महामानव आदि विशेषण र कार्यकर्ताहरूले सान्दाजु शब्दद्वारा पनि पुकारिने नेपाली कांग्रेसका स्थापक नेता बीपी कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष हुनुहुन्थ्यो । नेपालका राष्ट्रिय राजनीतिमा उहाँभन्दा लोकप्रिय तथा अग्लो व्यक्तित्व आजसम्म अरु देखिएको छैन । उहाँलाई मूर्धन्य नेताहरूले पनि आफ्नो नेता मान्ने गर्दथे । जुन उच्च मान्यता आजतक काय मै छ । नेपालको राजनीतिमा सबैभन्दा धेरै शब्द खर्चिएका र अन्तर्राष्ट्रिय राजनेताका रुपमा उहाँको नाम आउँछ । चीनमा राष्ट्रिय स्वाधीनता तथा एकता जनतन्त्र र समाजवादको लागि डा. सनयात सेनको र भारतमा सर्वोदय नेता जयप्रकाश नारायणको जुन राजनीतिक स्थान छ, बीपी त्यही स्तरको नेता हुनुहुन्थ्यो ।

बीपीको राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलनबाट भएको थियो । उहाँ स्वतन्त्रता सङ्ग्राममा सेनानी हुनुहुन्थ्यो । भारतबाट बृटिस शासन नहटेसम्म नेपालमा उसद्वारा पालित पोषित राणा शासन ढल्न र प्रजातन्त्रको नयाँ युग आउन कठिन हुने हुँदा भारतीय स्वतन्त्रता सङ्ग्रामलाई नेपालमा लोकतन्त्र स्थापनाको आधार मान्नुभएको थियो । पिता कृष्णप्रसाद कोइरालाको जेल मै निधन हुँदा उहाँ भारतको हजारीबाग जेलमा राजबन्दी हुनुहुन्थ्यो । आन्दोलनमा लागे कै कारण विश्वेश्वरप्रसाद र उहाँका दाजु मातृकाप्रसाद कोइरालालाई १९८६ सालमा तीन महिनासम्म बेलायती सरकारले कैद गरेको थियो । यसपछि नै उहाँको राजनीतिक जीवन सुरुवात भएको थियो । भारतीय राजनीति र समाजमा पनि उहाँको गाढा प्रभाव थियो । भारत प्रवासमा रहेकै बेला भारतको परिवर्तन देखेर उहाँले नेपालमा पनि परिवर्तन ल्याउने प्रयास गर्नुभयो । २००३ सालमा उहाँले भारतबाट समाजवादी नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्नुभएको थियो भने २००६ सालमा उहाँकै पहलमा नेपाली कांग्रेस पार्टी बनेको थियो ।  

२००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उहाँलाई नेपाल सरकारले एक वर्ष कैद गरेको थियो । सात सालको क्रान्तिमा विश्वेश्वरप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको थियो जसलाई नेपालको प्रजातान्त्रिक आन्दोलन पनि भन्ने भनिन्छ । २००७ सालमा उहाँले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक सङ्घर्ष सुरु गर्नुभएको थियो । सोही वर्ष राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो । तात्कालिक समयमा देशमा रहेको जहानिया वा एकतन्त्रीय राणा शासनविरुद्ध सुरु भएको जनताको क्रान्ति २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो ।

Prabhu Bank

व्यापक अध्ययन, चिन्तन तथा ठोस विश्लेषण व्यवहारमा उदारता तथा निर्णयमा अडान कर्तव्यको पुकारमा ज्यानको बाजी लगाएर भएपनि सङ्घर्षमा होमिने आँट, मानवीय जीवनका साथै जनताका भावना र आवश्यकता बारे तीक्ष्ण तथा सूक्ष्म दृष्टिकोण बनाउन सक्ने कला, दार्शनिक पक्षमा गहिरो ज्ञान, सङ्घर्षले दिएको अनुभवबाट बनेको दुर्धर्ष आत्मबल, अपरिग्रहयुक्त जीवनशैली आदि उहाँको व्यक्तित्वका ज्वलन्त विशेषता थिए । उहाँले दक्षिण एसियाको अवस्थितिमा नेपालको अस्तित्व, पार्टी र जनताका बीच कार्यकर्ताको भूमिका, जातीय विविधता भएको समाजमा राजनीतिक नेताको भूमिका, मुलुक गरिब तथा शोषित जनसमुदाय भएको अवस्थामा राष्ट्र नै लाभान्वित हुने खालको आर्थिक विकासका लागि राजनीतिक दल र नेताहरूले निर्वाह गर्नुपर्ने भूमिका जस्ता विषयमा उहाँले कार्यकर्ताहरूलाई निरन्तर प्रशिक्षित गरिरहनुभयो । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपाली कांग्रेसका आधारभूत सिद्धान्तका रुपमा स्थापित गराउने सर्वोच्च सिद्धान्तकार नेता उहाँ नै हुनुहुन्थ्यो । 

सत्तामा उहाँ २००७ सालमा आठ महिना गृहमन्त्री र २०१६ सालमा साढे एक वर्ष प्रधानमन्त्री रहनुभयो । उहाँले बाँकी सम्पूर्ण जीवन लोकतन्त्र प्राप्तिको संघर्ष मै लगाउनुभयो । त्यसक्रममा उहाँले राणाशाहीविरुद्ध जेलभित्रैबाट आमरण अनशन गर्नुभयो । २००७ सालको जनक्रान्ति, २०२५ सालपछि २०३३ सालसम्म सशस्त्र आन्दोलनको पनि उहाँले नेतृत्व गर्नुभएको थियो ।  २०१४ सालको भद्रअवज्ञा आन्दोलन वा २०३६ सालको विद्रोह तथा तत्कालीन राजालाई जनमत सङ्ग्रहको घोषणा गर्नुपर्ने परिस्थितिमा पुर्‍याउने राजनीतिक कार्यमा उहाँको ऐतिहासिक योगदान छ । उहाँ यथास्थितिवादी राजनीतिका एक नेता भएर होइन, राजनीतिको गतिलाई मोड्न सक्ने उहाँलाई तार्किक टुंगो दिनसक्ने र हर राजनीतिक परिस्थितिलाई प्रजातन्त्र अनुकूल बनाउन सक्ने अद्भूत क्षमता र व्यवहार कुशलता भएका अन्तराष्ट्रिय स्तरको राजनेताका रुपमा सुपरिचित हुनुभयो ।  

२०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलाप तथा एकताको सन्देश बोकेर उहाँ, गणेशमान सिंह, शैलजा आचार्यलगायत नेपाली कांग्रेसको ठूलै समूह आठ वर्ष लामो निर्वासित जीवन त्यागेर पटनाबाट काठमाडौं आउनु भयो । त्यसबेला उहाँ र गणेशमानजी माथि आठवटा संगीन आरोपसहितका मुद्दा लगाइएको थियो । एउटै मुद्दामा हार्दा पनि उहाँहरूको ज्यान जान सक्थ्यो । मुलुकभरि पञ्चहरूबाट उहाँहरूलाई फाँसीको सजायको माग राख्दै वक्तव्य प्रकाशित, बिन्तीपत्र टक्र्याउने, प्रस्ताव पारित गर्ने जस्ता गतिविधि अनवरत भइरहे । त्यसकारण कांग्रेसका नेताहरूलाई मार्नु पञ्चायती शासकको चरित्र नै थियो ।

पञ्चायती शासनको मुख्याती प्रजातन्त्रको शिविरमा यस कारणले पनि थियो कि त्यसबेला नेपाली कांग्रेसका लोकप्रिय, होनहार तथा प्रभावशाली नेताहरूलाई छानीछानी मार्ने षडयन्त्र बारम्बार भइरह्यो । यसमा योगेन्द्रमान शेरचन, सरोज कोइराला, दिवानसिंह राई, तेजबहादुर अमात्य आदि पर्नुभयो ।

सिक्किमबाट नेपाल आई झापामा वसोवास गर्दै आएका युवालाई तत्कालीन अञ्चलाधीशले रिभोल्भर दिएर निर्वासनमा रहनुभएको बीपीको हत्या गर्न बनारस पठाएका थिए । तर त्यो षड्यन्त्रको पर्दाफास भएपछि भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका ती युवालाई बीपीले नै क्षमा दिएर रिहा गरिदिन आग्रह गर्नुभयो र ती युवा रिहा भए । पछि त्यो युवा पत्रकारितातिर लागे ।  

२०३६ सालमा जनमत सङ्ग्रहको सिलसिलामा स्याङ्जा पुग्नुभएका बीपीलाई मार्ने असफल प्रयास भएको थियो । उहाँलाई हानिएको गोली स्याङ्जाकै कांग्रेस कार्यकर्ता तारापति कोइरालाले छेकेर बीपीलाई बचाउनुभयो । बीपीलाई हानिएको गोली तारापतिजीको घुँडामा लागेको थियो । हत्याको प्रयास र फाँसीको मागकाबीच बीपीले आफूमाथि लागेका सबै मुद्दालाई डटेर सामना गर्नुभयो । यस क्रममा उहाँले अदालतमा दिनुभएको सात घण्टा लामो बयान आज पनि विद्वत् समुदायमा चासो र खोजीको विषय भइरहेको छ । त्यसलाई अदालती बयानको अनुभव उदाहरण मानिन्छ । उहाँको स्वदेश आगमनले मुलुकमा यति ठूलो उत्साह र प्रभाव सञ्चार गर्‍यो  कि निर्विकल्प, माटो सुहाउँदो आदि विशेष दिइएको पञ्चायतलाई साढे दुई वर्षभित्रैमा बहुदलको पक्षबाट जनअदालत (जनमत सङ्ग्रह) को कठघरामा उभ्याउनुभयो । 

राजनीतिमा बीपी कोइरालाका रुपमा संक्षिप्‍त नामले चिनिनुहुने उहाँ साहित्यमा पूरा नाम विश्वेश्वरप्रसाद कोइरालाबाट लोकप्रिय हुनुहुन्थ्यो । आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भन्नुहुने बीपी मनोवैज्ञानिक साहित्य लेखनमा विश्वस्तरीय रचनाकार हुनुहुन्थ्यो । उहाँले उपन्यास, कथा, निबन्धका करिब एक दर्जन कृति लेख्नुभएको छ । साथै, आत्मवृत्तान्त, जेल जर्नल, फुटकर लेख रचनाहरूको सँगालो आदि पुस्तकहरू पनि प्रकाशित भएका छन् । नेपाली भाषा साहित्यमामा उहाँले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्नु भएको थियो । राजनीतिक आग्रह वा त्यसका छायाँ र प्रभाव उहाँले साहित्यमा प्रवेश गराउनु भएन । 

उहाँको जन्म भारतको बनारसमा १९७१ साल भदौ २४ गते भएको थियो थियो । न्वारानको नाम चूडामणि भएपनि विश्वनाथ मन्दिरको तीर्थस्थलमा जन्म भएको हुनाले उहाँको नाम विश्वेश्वरप्रसाद राखियो । एउटै पिताका तीन छोराहरू मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद प्रधानमन्त्री भएको विशेष उदाहरण उहाँको परिवारमा बन्यो । घाँटीमा आएको क्यान्सरका कारण उहाँको आवाज आउन छाडेको थियो । उहाँ सासले मात्र बोल्नुहुन्थ्यो । आफ्नो मृत्यु टाढा छैन भन्ने यकिन भएपछि उहाँले भाइ गिरिजाबाबुलाई एकदिन भन्नुभएछ, 'अब म उपचार गरेर बाँच्ने होइन । म स्वदेशमै मर्न चाहन्छु । यहाँबाट (बैङ्कक) मलाई नेपाल लगिहाल ।' 

उहाँकै आग्रहमा २०३९ साल साउन ६ गते भेन्टिलेटरमा अक्सिजनसहित बेहोस अवस्थामा साँझ ६ बजे काठमाडौं ल्याइपुर्याँइयो तर त्यसको एक घण्टा पनि नबित्दै उहाँको निधन भयो । भोलिपल्ट साउन ७ गते उहाँको अन्त्येष्टि विशाल जन समुदायको उपस्थितिमा भएको थियो । प्रजातन्त्रको पुनर्स्थापना भएपछि उहाँका नाममा धरानमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुरमा क्यान्सर अस्पताल, काठमाडौंमा आँखा अस्पताल, बनेपा–सिन्धुली–बर्दिवास राजमार्गको नामकरण गरिएको छ । भारतको पटनामा उहाँको पूर्णकदको सालिक र एउटा सडकको नाम बीपीमार्ग राखिएको छ । आज हामीबीच उहाँ हुनुहुन्न तर उहाँले देखाउनु भएको राजनीतिक दर्शन र सिद्धान्त नयाँ पुस्ताका लागि मार्गदर्शन बनेको छ ।

लेखक नेपाली कांग्रेसका नेता हुन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १४:३९
Weather Update