कास्की— पोखराको फेवातालमा वर्षासँगै फैलिएको जलकुम्भी झारले ताल कुरूप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन् ।
प्रत्येक वर्षको वर्षात्को समयमा फेवातालको सिरान पश्चिमी भागबाट पूर्वीभागतर्फ फैलिँदै आउने जलकुम्भी झार हटाउन पोखराका विभिन्न सङ्घसंस्था, सुरक्षाकर्मी र पर्यटन व्यवसायी सक्रिय हुने गरेका छन् । ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशको संयोजनमा पोखराका पर्यटन व्यवसायी, सुरक्षाकर्मी, पर्यटनसम्बन्धी सङ्घसंस्था र विद्यार्थीद्वारा आज बिहान फेवातालका फैलिएको १० ट्रक जलकुम्भी झार बाहिर निकालिएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।
जलकुम्भी झार कै कारण फेवातालमा पर्यटकलाई डुङ्गा शयर गर्न र तालको मध्यभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जानका लागि समस्या परेपछि प्रत्येक हप्ता विभिन्न सङ्घसंस्थाको संयोजनमा तालको जलकुम्भी झार हटाउने कार्य भइरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।
उनले जलकुम्भी झारलाई व्यवस्थापन गर्न बायोग्यास कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी भएको बताए । फेवातालमा समस्याका रुपमा जलकुम्भी झार देखापरेको १२ वर्ष भइसकेको छ ।