
काठमाडौं— अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाली कांग्रेसको बारेमा नियोजित रुपमा पार्टीभित्रैबाट र सामाजिक सञ्जालमार्फत गालीगलौज सहित नकारात्मक प्रचार गरिएको बताएका छन् । यस्तो अवस्थामा अब पार्टी चुप लागेर बस्न नहुने धारणा उनको छ ।
बीपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारेर धापासीमा शनिबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मन्त्री महतले बीपीले सत्यको पक्षमा बोल्न अभिप्रेरित गरेको उल्लेख गरे । उनले सत्यको पक्षमा लाग्न बीपीबाट प्रेरणा लिनुपर्ने बताए ।
अहिले असाधारण रुपमा कांग्रेसको व्यक्ति, प्रवृत्ति र कार्यको विरोध सामाजिक सञ्जाल लगायत पार्टी भित्रैबाट भइरहेको भन्दै कांग्रेस चुप लागेर बस्न नहुने र आफ्ना स्पष्ट धारणा राख्नुपर्ने महतको भनाइ छ ।
अहिले कांग्रेसको नियोजित पार्टी, प्रवृत्ति, कार्यशैली लगायतका विविध विषयमा सामाजिक सञ्जालबाट प्रहार भएको आरोप लगाउँदै उनले भने, ‘अहिले त झूटोको थुतुनो चलिराखेको छ ।सामाजिक सञ्जालमा चोर भन्द्या छ, यिनीहरु फटाहा हुन् भन्देको छ, कांग्रेस खत्तम हो, कांग्रेसको फलानो त झन फटाहा हो भन्देको छ, नियोजित प्रचार भएको छ । अव सत्य नबोलेर चुप लागेर बस्ने हो भने के हुन्छ ? चुप लागेर त्यसलाई प्रतिकार नगर्ने हो भने, आफ्ना कुराहरू नराख्ने हो भने झूटोको साम्राज्य स्थापित हुन्छ ।’
मन्त्री महतले सामाजिक सञ्जालमा अनेकौं झुटो प्रचार हुने गरेको भन्दै त्यसको प्रतिकार नगरेर चुप लागेर बस्ने भए सत्यको पराजय हुने भन्दै बीपीको भनाइबाट सिकेर सत्यको पक्षमा बोल्न छोड्न नहुने धारणा राखे । ‘बीपीको भनाइबाट अहिले हामीले सिक्ने के हो भने जसले जे सुकै भनेपनि हामी ठीक ठाउँमा छौं, सत्यको पक्षमा छौं भने बोल्न छोड्नु हुँदैन । हामीले आफैँले आफैंलाई आरोप लगाउने, हामी खत्तम हो भन्ने गर्न थाल्यौं भने देश अगाडि बढ्दैन,’ महतले भने ।
त्यस्तै, उनले नयाँ राजनीतिक दल र कार्यकर्ताले सानो काम गरेपनि सामाजिक सञ्जालमा देखाएर प्रचार गर्ने प्रवृत्ति बढेको भन्दै व्यङ्ग गरे । आफ्नो पार्टी र कार्यकर्ताले धेरै काम प्रत्येक दिन गर्दै आएपनि प्रचारका लागि सामाजिक सञ्जालमा नहालेको जिकिर गरे । तर, पछिल्लो समय सामाजिक सञ्जालले नै प्रचारद्वारा लोकप्रियता बढाएको दृष्टान्तलाई मध्यनजर गरेर आफ्नो पार्टीका राम्रा कामलाई प्रचार गर्नुपर्ने धारणा महतले राखे ।