काठमाडौं— तत्काल संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस भएको छ ।
डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) निकट विद्यार्थी युनियन र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले बिहीबार माइतीघर मण्डलामा बहस गरे ।
संयुक्त विद्यार्थी आन्दोलनले आयोजना गरेको सडक बहसमा नेपाल समाजवादी विद्यार्थी युनियनको इन्चार्ज एवम् नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य मानुषी यमि भट्टराईले शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक भएको बताइन् ।
उनले शिक्षा ऐन तत्काल जारी गरी शिक्षा क्षेत्रको बेथिति अन्त्य गर्न सरकारसँग माग गरिन् । विश्वविद्यालय शैक्षिक क्यालेन्डर बन्न नसकेकोले विद्यार्थीको पढाई अस्तव्यस्त बन्न गएको बताइन् ।
बहस कार्यक्रममा विवेकशील पार्टीकी रन्जु दर्शनाले शिक्षा ऐन गर्न पुरानो राजनीतिक दल तयार नभएको बताएन् ।
शिक्षा ऐन जारी गराउन निरन्तर खबरदारी गरिरहने र अर्को आन्दोलनको कार्यक्रम चाँडै सार्वजनिक गर्ने नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो सङ्ग्रामले बताए ।
कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियन अध्यक्ष नेत्र चापागाईं, अखिल (क्रान्तिकारी) को संयोजक पवन कार्कीले शिक्षा ऐन विषयमा धारणा राखेका थिए ।