News Griha :: न्यूजगृह
सुनसरीको सेउती पुलमा गोली हानेर एक युवकको हत्या

इनरुवा— सुनसरीको इटहरी–२० स्थित कोशी राजमार्गमा पर्ने चारकोसे जंगलको सेउती पुलमा शुक्रबार गोली हानेर एक युवकको हत्या गरिएको छ । हत्या हुनेमा विराटनगरका २८ वर्षीय रोहित चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको र केही समय जंगलको छेउमा बसिरहेका युवा–युवतीमध्ये युवकलाई गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

सेउती पुलको बीचबाट जंगलपट्टी मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवामध्ये एक जनाले रोहितलाई गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

गोली लागेर गम्भीर घाइते भएका रोहितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोहितसँगै रहेकी विराटनगरकै सुमना खत्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रोहित र सुमना प्रेमीप्रेमिका भएको बताइएको छ ।

धनकुटामा घुमेर घर फर्कँदै गर्दा थकाइ लागेर सेउती पुलमा मोटरसाइकल रोकेर उनीहरू बसेका थिए । गोली लागेर गम्भीर घाइते भएपछि रोहितलाई सुमनाले नै एम्बुलेन्समा राखेर हस्पिटलसम्म ल्याएकी थिइन् ।

घटनामा संलग्नको खोजी भइरहेको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  २१:३५
Weather Update