
धनुषा— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भइरहेको बताएकी छन् ।
उनले सरकारले अहिले नागरिकता विधेयक ल्याएर मधेसमा ठूलो समस्याका रुपमा देखिएको समस्या समाधान गरेको बताइन् । जनकपुरधाममा शुक्रबार आयोजित एक अन्तरक्रियामा सञ्चारमन्त्री शर्माले भनिन्, ‘सरकार सुरुदेखि नै सुशासनमा केन्द्रित हुँदै भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भएको हुँदा सरकारका कदमबाट धेरैलाई टाउको दुखेको छ ।’
मन्त्री शर्माले सक्कली नेपालीलाई नागरिकता दिन विधेयक ल्याएको बताउँदै कहीँ कतै त्यसको दुरुपयोग भए कानुनको दायरामा आउने स्पष्ट पारिन्।
उनले अहिले सरकारले मिटरब्याज पीडितहरूलाई न्याय दिनका लागि शक्तिशाली आयोग बनाएर जनकपुरधामबाट नै समस्या समाधानको पहल गरिएको र पीडितलाई न्याय दिने काम अघि बढेको बताइन् ।