
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो दललाई सरकारमा लैजान चाहेको दाबी गरेका छन् ।
बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतकसमेत रहेका परियारले कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको दाबी गरेका हुन् ।
उनले सरकारमा जाने सम्बन्धमा संवाद जारी रहे पनि हालसम्म टुंगो नलागेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आफूहरूप्रति सद्भाव रहेको बताए ।
‘विश्वासको मत हामीले दिइसके पछाडि सामान्य अर्थमा सरकारमा रास्वपा जान्छ भन्ने नै हो । तत्कालै उपनिर्वाचन पनि आएको र विशेषगरी यो गठबन्धनमा पनि कुराहरू नमिलिसकेको अवस्था छ । हामी त गठबन्धनमा छैनौँ विश्वासको मत दिएपनि । हामी उपनिर्वाचनमा केन्द्रिकृत भइरहनुपर्ने भएको कारणले हामीले टुंग्याएको छैन । विशेषगरी नेपाली कांग्रेस, माओवादीलगायत प्रधानमन्त्री स्वयंले पनि रास्वपा सँगै सरकारमा हुनुपर्छ भन्ने उहाँहरुको सद्भाव त छ । तर अहिलेको हाम्रो आवश्यकता उपनिर्वाचन हाम्रो लागि महत्त्वपूर्ण छ । संवाद जारी छ । तर टुंगिएको छैन,’ उनले भने ।













