
काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनेगरि प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन हुनुपर्ने धारणा राखेका छन् ।
जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य पौडेलले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गर्नुपर्ने भन्दै प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने धारणा राखेका छन् ।
उनले भने, 'समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनेगरि प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन हुनुपर्छ । मेरो विचारमा त्यसका लागि २०१ सिटमा निर्वाचन हुने व्यवस्था गरौँ । त्यहीभित्र समावेशी र समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था सुनिश्चित गरौँ । प्रदेशमा पनि समावेशी समानुपातिक प्रतिनिधित्व प्रत्यक्ष निर्वाचनबाट नै हुने व्यवस्था गरौँ, राष्ट्रिय सभाको संख्या जम्मा ३५ मा पुर्याउ । कांग्रेसलाई त्यो विषयलाई अगाडि बढाउन आग्रह गर्न चाहन्छु ।’
उनले पार्टीको स्वास्थ्य समस्या सिटामोलले हल हुने जस्तो नभएको भन्दै कतिपय समस्या सर्जरीकै अवस्थामा पुगेको बताए ।
उनले भने, 'पार्टीको स्वास्थ्यमा समस्या छ, सिटामोलबाट यो समस्या हल हुने स्थिति छैन् । कतिपय कुराहरूमा सर्जरी नै आवश्यक छ । पदाधिकारीहरूको अनुमतिबाटै अनुमोदन भएर महामन्त्रीले प्रतिवेदन पेश गर्नु भएको होला तर यतिले मात्रै कुराले कांग्रेस रूपान्तरण भएको भन्ने प्रमाणित गर्न सक्दैनौ ।’
पार्टीबाट प्रधानमन्त्री र मुख्यमन्त्री दुईपटक भन्दा बढी हुन नपाउने व्यवस्था राख्नुपर्ने भन्दै एउटा व्यक्तिले चारपटक भन्दा बढी टिकट नपाउने प्रावधान पार्टीमा राख्नुपर्ने पनि उनको धारणा थियो ।