
काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको दस्तावेज जस्तो देखिएको बताएकी छन् ।
जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै राणाले महामन्त्रीले पेश गरेको प्रतिवेदनमा धेरै कार्यक्रम धेरै तर कार्यक्रमको उपलब्धि के हो स्पष्ट नभएको भन्दै राजनीतिक दस्तावेज जस्तो नदेखिएको तर्क गरिन ।
उनले भनिन्, ‘महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेज हुन्छ भन्ने सोचेको थिए तर यो राजनीतिक दस्तावेज भन्दा पनि एनजिओको दस्तावेज जस्तो देखिएको । धेरै कार्यक्रमहरू गर्ने तर कार्यक्रमको उपलब्धि के हो त, त्यो स्पष्ट भएन र मलाई के सुझाव दिन मन लागेको छ भने, तीन चार वटा ठोस कार्यक्रमहरू गरौँ ।’
केन्द्रीय सदस्य राणाले नेपाली कांग्रेस एजेण्डा सेटिङ् गर्ने पार्टी भएपनि महामन्त्रीको प्रतिवेदनमा त्यस्तो केही कुराहरू नदेखेको पनि आरोप लगाइन् ।
उनले भनिन, ‘दुई तीनवटा बाटोमा हामी जानुपर्छ, एउटा सुशासन, त्यसको लागि हामी कतिको तयार छौ, संगठनको विषयमा प्रशिक्षण बढाउनु पर्छ नम्बर बढाएर केही हुदैँन, हुल मात्र बोकेर के काम, नेपाली कांग्रेस भनेको के हो, किन कांग्रेस हुने भनेर प्रशिक्षण दिनुपर्छ । सिकेको आधारमा मात्रै क्रियाशीलता दिनु पर्यो अरुले दियो भन्दैमा किन त्यसमा दौडिने, हाम्रो सिद्धान्त, नीति के हो भनेर जनताले देखेको छ, अर्को भनेको आफ्नै पार्टीलाई खुला रुपमा आलोचना गर्न छोड्नु पर्यो । ’
निर्वाचन आयोगले ३० प्रतिशत महिला उठाउ नै पर्छ भनेको स्मरण गराउँदै राणाले योजना के हो चुनाव आएपछि टर्च बालेर महिला खोज्ने होकी अहिले बाटै लाग्ने हो भन्ने प्रश्न गरिन । महिलाहरू जहिले समानुपातिकमा राख्ने काम नगर्न आग्रह गर्दै उनले विचार र समर्पणको आधारमा मौका दिनु पर्ने बताइन् ।