News Griha :: न्यूजगृह
सुन तस्करी सामान्य घटना होइन,भ्रष्टाचारको स्थिति भयावह देखिन्छ : बाबुराम

काठमाडौं— पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो सुन तस्करी भएको घटना समान्य नभएको टिप्पणी गरेका छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत डा.भट्टराईले देशमा भ्रष्टाचारको स्थिति भयावह देखिएको बताएका छन् । 

उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यतिका जाँचबुझका घेरा नाघेर सय किलो (रू ८४ करोड) बराबरको सुन तस्करी हुनु सामान्य घटना होइन । यो पहिलो र अन्तिम पनि होइन । केही समय यता चर्चामा आएका भ्रष्टाचारका घटनाहरूलाई मात्र जोडेर हेर्ने हो भने पनि देशमा भ्रष्टाचारको स्थिति भयावह देखिन्छ ।’

उनले भ्रष्टाचाररुपी क्यान्सको उपचार कुनै अलौकिक महापुरुषको अवतार वा परम्परागत झारफूकबाट नहुने भन्दै निर्मम शल्यक्रिया र राज्यसंयन्त्रको संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् ।

‘बेलाबखत उठ्ने र लुक्ने ठूला भ्रष्टाचार प्रकरण त झन् कति भयावह होलान् कल्पना मात्र गर्न सकिन्छ । अतःदुसाध्य बनिसकेको भ्रष्टाचाररूपी क्यान्सरको उपचार कुनै अलौकिक महापुरूषको अवतार वा परम्परागत झारफूकबाट होइनन राजनीति/प्रशासन/सुरक्षासंयन्त्र/न्यायालयको एकीकृत र निर्मम शल्यक्रिया र राज्यसंयन्त्रको संरचनात्मक सुधारमा खोज्न ढिलो नगरौं ! नत्र श्रीपशुपतिनाथले पनि हाम्रो रक्षा गर्न सक्नेछैनन् !’उनले भनेका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०६:०३
Weather Update