
काठमाडौं— स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने भएको छ ।
महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले फोहोर उठाउनका लागि स्थानीय जनप्रतिनिधिसहित शहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए ।
‘यही साउन १ गतेदेखि महानगरपालिका फोहाेर उठेको छैन,अझै चार/पाँच दिनसम्म उठ्ने सम्भावना छैन’,उनले भने,‘कि मान्छे हटाऊ, कि फोहाेर हटाऊ भन्ने त्यहाँका स्थानीय बासिन्दाको मुख्य माग रहेको छ । विस्तारै माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको हो ।’
फोहोर विसर्जनका लागि महानगरपालिका छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।
‘स्थानीय बासिन्दाले फोहोरकै दुर्गन्धका कारण बस्न कठिनाइ भएको भन्दै अवरोध गरेका छन् । महानगरपालिका यस विषयमा छलफल गरी स्थानीयवासीको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ’,उनले भने ।
राज्यले ऐक्यबद्धता नजनाएसम्म अवरोध नहट्ने स्थानीयवासीको माग रहेको धुनिबेँसी नगरपालिकाका–१ का वडाध्यक्ष मानबहादुर तामाङले बताए ।