
काठमाडौं— प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको बताएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले मिटरब्याजको जड साहु नभएर सरकार भएको बताए ।
उनले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको बताए । सांसद सिंहले सरकारले गरिबी र अशिक्षा माथि शासन गर्न खोजेको बताए । सांसद सिंहले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरे ।
उनले भने, ‘मिटरब्याजी पीडितहरू हाम्रो राज्य सञ्चालनको ऐना हो । राज्यले नै ३ थरिको व्याज तय गरेको छ । मिटरब्याज, माइक्रोफाइनान्सबाट सेन्टिमिटर ब्याज र बैंकबाट मिलिमिटर ब्याज । मिलिमिटर व्याज उद्योगपतिहरूलाई दिइन्छ । मिटरब्याजको जड साहु होइन सरकार हो । सरकार यो देशलाई अस्तव्यस्त बनाएर, गरिबलाई झन गरिब बनाएर शासन गर्न खोजेको हो । गरिबी र अशिक्षा माथि सरकारले सरकार सञ्चालन गर्न खोजेको हो । कहिले पनि शिक्षाको विकास गर्दैन । गरिबको चिन्ता गर्दैन ।’













