
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चार माध्यमहरूलाई युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चार माध्यमहरू नै भएकाले युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको स्पष्ट पारे ।
बुधबार बुटवलमा आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारणसभामा बोल्दै उनले सामाजिक सञ्जालहरूसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ब्रेकिङ न्युजको सम्भावना नरहेको तर्क समेत गरे ।
अध्यक्ष ओलीले नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न पनि समाचार माध्यमहरूलाई सुझाव दिए । विश्वमा सञ्चारका नयाँ नयाँ प्रविधिहरूको विकास भएकाले टेलिभिजनलगायतका सञ्चार माध्यमहरूले पनि त्यसको प्रयोग गर्दै अघि बढाउनुपर्ने उनले बताए ।
'अत्यन्तै तीव्रताका साथ आज दुनियाँमा सञ्चारका प्रविधिहरू अत्यन्तै विकास भइरहेका छन् । टेलिभिजनहरू एउटा कुरासँग अलि हच्किएको देख्छु–यूट्युवसँग, के सँग, टिकटकसँग, फेसबुकसँग, सामाजिक सञ्जालसँग । त्यो सबैले समाचार प्राप्त गर्ने भनेको टेलिभिजनबाटै हो । टेलिभिजनबाट समाचार प्राप्त गरेर नै त्यो समाचारलाई लिएर अरूले बनाउने हो । त्यो त इन्डिभिजियोल्ली चलाउने कुरा हो । अर्गनाइज वे मा चलेको हुँदैन', ओलीले भने, 'त्यसकारण उनीहरूसँग वाइड इन्फरमेसन, इमिडियड इन्फरमेसन, फ्रेस इन्फरमेसन, वास्तवमा न्युज ब्रेकिङ उनीहरूबाट साधरणतया सम्भावना कम हुन्छ । किनभने कहाँ, के भएको हुन्छ ? उनीहरूको नेटवर्किङ त्यति हुँदैन । त्यसकारण यसको त नेट वर्किङ हुन्छ । नेटवर्क विस्तार गरौँ । नयाँ प्रविधि भित्र्याऊ । यो कुरा चाहिँ तपाईंहरूले ध्यानमा राख्नु हुनेछ भन्ने मैले ठानेको छु । मुख्य कुरा टिम स्प्रिट हो ।'
ओलीले २०४६ सालको परिवर्तनपछि नेपालका सञ्चार माध्यमहरूको विकासले गति लिएको पनि स्मरण गराए । त्यस अवसरमा उनले विश्वमा नै टेलिभिजन सञ्चार माध्यमको विकासको इतिहास लामो नभएको पनि उल्लेख गरेका थिए ।













