News Griha :: न्यूजगृह

काठमाडौं— राष्ट्रिय सभाका सांसद गोपाल भट्टराईले करिब एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं संलग्न रहेको आरोप लगाएका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत सुन तस्करी प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गरे । सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरू नै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वाससमेत आफूहरूलाई नभएको बताए ।

उनले सुन तस्करले राज्य सञ्चालन मै हस्तक्षेप गरिरहेको आभास भइरहेकोसमेत बताए ।

सांसद भट्टराईले भने, ‘हाम्रो देशमा तस्करहरूले राज्य सञ्चालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ । बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ । पावरमा भएकाहरू जोडिँदा समेत छानविन भएको छैन । जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ । भर्खरै समातिएको करिव एक क्विन्टल सुनको बारेमा पूर्व सभामुख र गृहमन्त्रीको समेत नाम जोडिएर समाचारहरू आएका छन । सुन भित्र्याउँदा मोटरसाइकल र स्कुटरको ब्रेक शू भनेर भन्सार छली भएको छ । यो एक, डेढ महिना यही प्रक्रियाबाट भित्रिएको भन्ने सुनिएको छ । अव निष्पक्ष छानविन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । यो प्रश्न राख्न चाहन्छु ।’

सांसद भट्टराईले जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्नेक्रम बढिरहेको जिकिर गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर नभएको बताए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:२९
Weather Update