बिहीबार मिटर ब्याज पीडित र सरकारी टोलीबिच वार्ता हुने

काठमाडौं— मिटर ब्याज पीडित र सरकारले गठन गरेको वार्ता टोलीबिच बिहीबार वार्ता हुने भएको छ ।
महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेरै काठमाडौं आइपुगेका मिटर ब्याज पीडितको समस्या समाधान गर्न मंगलबार सरकारले मंगलबार गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाकी प्रमुख सहसचिव रूद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।
टोलीमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङसहित प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयका प्रतिनिधि समेत छन् । वार्ता टोलीका संयोजक शर्माले बिहीबार बिहान १० बजे मिटर ब्याज पीडितसँग मन्त्रालयमा वार्ता हुने तय भएको जानकारी दिइन् ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटर ब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १५:११













