काठमाडौं— नेपाली कांग्रेसको मंगलबारबाट सुरु केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा महामन्त्री गगन थापाद्वारा केन्द्रीय कार्यालयका तर्फबाट राखिएको एजेण्डामाथि सदस्यहरूले आआफ्ना धारणा राख्नेछन् ।
बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्य तथा प्रदेश समितिका सभापतिहरूले आआफ्नो धारणा राखेका छन् । बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी विधि र विधान अनुसार सञ्चालन हुन नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् ।
पार्टी सभापतिका साथै पदाधिकारीहरू पार्टी संगठनलाई बलियो बनाउन भन्दा गुटलाई संस्थागत गर्न सक्रिय भएको आरोप लगाउँदै सदस्यहरूले व्यक्ति होइन संस्था बलियो बनाउनेगरी लाग्न नेतृत्वलाई सुझाएका छन् । पार्टीमा अनुशासनहीनता मौलाएको गुनासो गर्दै केन्द्रीय पदाधिकारीदेखि सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुको साटो अरुलाई आरोपित गर्न मात्र लागि परेको विचार राखेका थिए ।
पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिन नसक्दा तल्लो तहको संगठन कमजोर बनेको धारणा सदस्यहरूले राखेका छन् । साथै, प्रदेश सभापतिहरू संविधान र पार्टी विधानको व्यवस्था अनुसार संघीय संरचनालाई केन्द्रीय नेतृत्वले स्वीकार गर्न नसकेको गुनासो गरेका छन् ।